बक्यौता रकम नपाए आत्महत्या गर्ने भनिएका उखु किसानको अन्तत हृदयघातबाट निधन
Tuesday, December 29th, 2020, 1:06 pm
काठमाडौं । उखु बिक्रि गरेको बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी एक उखु किसानको मृत्यु भएको छ ।
सर्लाही धनकौल छोटवल टोलका ६५ बर्षीय नारायण राय यादवको आज बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको उखु किसान आन्दोलनका संयोजक राकेश मिश्रले जानकारी दिनुभयो । उनलाइ मंगलबार विहान हृदयघात भएको थियो । अस्पताल पु¥याएको दुई घण्टामा उनको निधन भएको मिश्रले बताएका छन् ।
उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार हिजो सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।
मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हजार रुपैयाँ लिन बाकी रहेको थियो । मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको समेत मिश्रको भनाई छ । पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् ।