नेकपा नामकोविरूद्ध परेको मुद्दाको सुनुवाइ आज पनि स्थगित
Tuesday, December 29th, 2020, 12:34 pm
काठमाडौं । सत्तारुढ नेकपाका दुवै समूहले आधिकारिकता दावी गरिरहेको नेकपा नामकाविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगले ओली–दाहाल समूहलाई दिएको नामकाविरूद्ध सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ पेशी चढेर पनि स्थगित भएको हो ।
पटक–पटक सर्दै आएको सो मद्दाको पेशी आज न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पेशीमा एक नम्बरमा थियो । तर, सर्वोच्चको पेशी सूचीमा सो मुद्दालाई स्थगित राखेको जनाइएको छ । मुद्दा पक्षको कानून व्यवसायी बीपी पौडेललाई मातृ शोक परेर सुनुवाइ स्थगन भएको अध्यक्ष कट्टेलले जानकारी दिनुभएको छ ।
तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिनुभएको थियो । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च जानुभएको थियो । सोहि समयदेखिनै यो मुद्दा सर्वोच्चमा विचाराधीन रहेको थियो ।