चिनियाँ उपमन्त्रीको टोली र काँग्रेस सभापति देउवाबीच भेटबार्ता, चीन भ्रमणको निम्तो
Tuesday, December 29th, 2020, 12:21 pm
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटबार्ता भएको छ । उपमन्त्रीको टोली देउवालाई भेट्न उहाँकै निवास बुढानिलकण्ठ पुगेको थियो ।
भेटमा काँग्रेस सभापति देउवासँग दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको काँग्रेसका परराष्ट्र सल्लाहकार डा दिनेशकुमार भट्टराईले जानकारी दिनुभएको छ ।
सभापति देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष पुगेको उपलक्ष्यमा शुभकामना समेत दिनुभएको छ । कम्युनिस्ट पार्टीको सय वर्ष पुगेको उपलक्ष्यमा चीनमा आयोजना हुने सभामा सभापति देउवालाई चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन भ्रमणको निम्तोसमेत दिएको भट्टराईले बताउनुभयो ।
यो शिष्टाचार भेट भएको र नेकपा राजनीतिको विषयमा खासै कुराकानी नभएको भट्टराईको भनाई छ । राजनीतिक घटनाक्रमबारे भने आफूहरुले केही नसोधेको र उनीहरुबाट पनि केही जानकारी नआएको काँग्रेसका परराष्ट्र सल्लाहकार भट्टराईको दाबी छ । भेटमा नेपाली काँग्रेसका नेता डा नारायण खड्का पनि सहभागी रहनुभएको थियो ।