अत्याधिक जाडोले कर्णालीको जनजिवन कष्टकर
Tuesday, December 29th, 2020, 11:18 am
काठमाडौं । अत्याधिक बढेको जाडोले कर्णालीका बासिन्दाको जनजिबन कष्टकर बनेको छ । मंसिर लागेदेखिनै चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।
कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित बनेका छन् । जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ८ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
जाडो बढे पनि साविकको कर्णालीका कुनै जिल्लामा वर्षा तथा हिमपात नभएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख आशामपुरा कार्कीले जानकारी दिनुभएको छ । जाडो बढ्दै जाँदा खानेपानीका धारामा बरफ जमेर पानी समेत आउन छाडेको उहाँले बताउनुभयो । मोटरसाइकल तथा गाडीमा पेट्रोल डिजेल जम्दा सञ्चालमा ल्याउन समस्या भएको छ ।
चिसोले पानीका पाइप समेत फुट्न थालपछि स्थानिय बासिन्दालाई खानेपानीको समेत समस्या भएको छ । घरमा राखिएका ग्यास सिलिण्डर पनि जम्न थालेको चन्दननाथ नगरपालिका–६ जुम्लाका स्थानीय पदमलाल महतले जानकारी दिएका छन् । चिसोले विपन्न, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति र सुत्केरी बढी प्रभावित भएका छन् । यो समयमा दम, निमोनिया, रुघाखोकी, कोल्ड डाइरियाका रोगी अस्पतालमा बढी आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिनुभएको छ ।