पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डडेलो ६ दिन सम्म पनि निभेन
Tuesday, December 29th, 2020, 10:57 am
काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा ६ दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको प्रहरीले जनाएको छ ।
ठूलो आगोको ज्वालामा हेलिकोप्टरबाट झारेको पानी पेट्रोल जस्तै बनेको र आगो नियन्त्रण हुनुको सट्टा झनै ठूलो फैलिरहेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरा मन्दिरको संरचनामा भने डढेलोले कुनै असर गरेको छैन् । अहिले डडेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी महतले बताउनुभयो ।

सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाँचपटक जोरपोखरीबाट पानी ल्यएर आगो नियन्त्रण प्रयास गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभएको छ ।
आज बिहान कञ्चनजंघा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बिहानी उपभोक्ता समिति पदाधिकारी र संरक्षण बासिन्दा हिजैदेखि नै संरक्षण क्षेत्रमा आगो प्रवेश गर्न नदिनका लागि लुकुम्पा सामुदायिक वनमा पुगेर बसेको कञ्चनजंघा संरक्षण क्षेत्र संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि हिजो बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जंगलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जंगल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।