राप्रपाले राजतन्त्रको पक्ष र संघीयताको विपक्षमा प्रदर्शन गर्ने
Tuesday, December 29th, 2020, 10:30 am
काठमाडौं । देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको ठहर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।
केही दिनअघि काठमाडौंमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले लिएका एजेण्डा हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पुनःस्थापना गर्न र सहज रुपमा सबै अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको निर्णय गरेको थियो । राप्रपाले अंगिकार गरेका एजेण्डालाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेण्डाहरुको विषयमा बहस सुरु हुनु सुखद रहेको बताउँदै त्यसलाई स्थापनाका लागि आन्दोलनमा जानुपरेको राप्रपा नेता मोहन श्रेष्ठले बताए।
परिवर्तनको मार्गचित्र नै गलत भएकाले त्यसलाई सच्याएर हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको राप्रपाले निष्कर्ष निकालेको हो।
भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्या समाधान, नियमित रुपमा बढ्दै गएको धर्म परिवर्तनको विरोध तथा सनातन हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र पुनःस्थापनाको माग राखी आन्दोलनको तयारी गरेको राप्रपाले यही पुस १७ गते काठमाडौंमा वृहद् जनप्रदर्शनको तयारी गरिरहेको छ। आन्दोलन परिचालनका लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन जनपरिचालन समितिसमेत गठन भएको छ।