आन्दोलनरत स्वास्थ्यकर्मी र सरकारबीच वार्ता हुदै
Monday, December 28th, 2020, 5:16 pm
काठमाडौं । स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समिति र सरकारबिच वार्ता हुने भएको छ ।
आन्दोलित संयुक्त संघर्ष समितिले वार्ताका लागि नेपाल चिकित्सक संघका अध्यक्ष एवं समितिका संयोजक डा लोचन कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेका छन् ।
समितिमा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वल कुमार शर्मा, मेडिकल ल्याबोरेटोरी एशोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का, नेपाल डेन्टल साइन्स हाइजिनिष्ट एशोसिएसनका अध्यक्ष माईकल देवकोटा, हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारी, कृष्णमान शाक्य र लता महत सदस्य रहनुभएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम र सहसचिव दामोदर रेग्मी सदस्य रहनुभएको छ । सरकारले वार्ता समिति गठन गरेपछि आफुहरुले पनि वार्ताका लागि समिति गठन गरेको डा कार्कीले बताउनुभएको छ । वार्ता कहिले हुन्छ भन्ने निश्चित नभएपनि भोलि हुने संभावना धेरै रहेको उहाँले बताउनुभयो ।
विभिन्न १८ बुँदे माग सहित स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित बनेका छन् । आन्दोलन स्वरुप हिजो उनीहरुले माइतीघर मण्डलामा मौन धर्ना समेत दिएका थिए ।