ओलीको अहमताले संविधानमाथि आक्रमण भयोः कांग्रेस नेता सिंह
Monday, December 28th, 2020, 2:31 pm
काठमाडौं । नेपाली कांग्रेसका पूर्व–महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको अहमताले संविधानमाथि आक्रमण भएको बताउनुभएको छ । संसद् विघटनविरुद्ध काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीले संविधानको कू गरेको बताउनुभएको हो ।
‘दुई तिहाईको हुइय्याँ चलाउने, आफ्नै पार्टीमा समर्थन जुटाउन नसक्ने । दलभित्र फेस गर्न नसक्ने, धेरै ठूला कुरा गरेर हिँड्ने?’ प्रश्न गर्दै नेता सिंहले भन्नुभयोे, ‘ओली सरकारले संवैधानिक कु गरेको छ ।’
पाँच वर्ष सरकार चलाउन मत दिएका जनताको मतको बेवास्ता गरी संसद विघटन गरेको भन्दै उहाँले संसद् पुनःस्थापनाको लागि सबैको दबाब आवश्यक रहेको बताउनुभयो । संविधानमाथि प्रहार भएकोले कांग्रेस चुप नबस्ने उल्लेख गर्दै उहाँले ओली सरकारले जनताको अपमान गरेको बताउनुभयो । संघीयता, लोकतन्त्र, गणतन्त्र सबै भएको संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने उहाँको ठहर छ ।
कांग्रेस विधिको शासनलाई मान्ने पार्टी हो भन्ने कुरा ओली सरकारले हेक्का राख्नु जरुरी रहेको उहाँको भनाई छ । उहाँले भ्रष्टाचार गर्दिन, गर्नेलाई हेर्दिनँ भन्ने प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप पनि लगाउनुभयो । आज कांग्रेसले देशका १६५ निर्वाचन क्षेत्रमा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ ।