चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद
Monday, December 28th, 2020, 2:17 pm
काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । चन्द समूहका कार्यकर्ताले संखुवासभाको चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री प्रहरीले आज बरामद गरेको हो ।
प्रहरीले चैनपुर नगरपालिका ४ मैदानेमा चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम ४ थान, हतियार तथा कम्ब्याटसहितको फोटो र ६ वटा मोबाइलसहित ११ वटा सिम आजै सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
त्यस्तै, टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारको सामग्री पनि बरामद गरेको प्रहरीले जनाएको छ । हिजो दिउँसो मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।
भिडन्तका क्रममा प्रहरीले २ राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले ६ राउन्ड गोली चलाएको प्रहरीको दाबी छ । मैदाने क्षेत्रमा ३६ जना प्रहरी र १० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जंगलतिर भागेका चन्द समूहका कार्यकताको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।