आउँदो चैत महिनाभित्र उत्पादन सुरु हुने : माथिल्लो तामाकोशी जलविद्युत आयोजना
Monday, December 28th, 2020, 1:50 pm
दोलखा
दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामावगरमा स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आगामी चैत्र महिनाबाट उत्पादन सुरु हुने भएको छ। आयोजनाले चैत महिनाभित्र ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने जनाएको हो ।
चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०६७ भदौबाट निर्माण सुरु भएको थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा ३५ अर्ब अनुमान गरिएको लागत बढेर ४९ अर्ब २९ करोड पुगेको छ ।
यसअघि सार्वजनिक गरेको तालिकाअनुसार यही पुस महिनामा पहिलो युनिटबाट विद्युत उत्पादन गर्नुपर्ने थियो । आयोजना पुनः संशोधित तालिका सार्वजनिक गर्दै २०७७ फागुनमा सुरुङमा पानी भर्ने, चैतमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने र २०७८ असारभित्र बाँकी ५ वटा युनिटहरुबाट पनि विद्युत उत्पादन गर्ने जनाएको छ ।