संसद विघटन विदेशी सेनाको क्रिडास्थल बनाउन गराइयो : देव गुरुङ
Monday, December 28th, 2020, 1:22 pm
काठमाडौं
नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइएको नेकपा प्रचण्ड–माधव नेपाल समूहका नेता देव गुरुङले दाबी गर्नु भएको छ । गुरुङले संसद विघटनको कदम राष्ट्रघाती भएको टिप्पणीसमेत गर्नुभएको छ ।
सोमबार बिहान कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले यो संसद रहँदासम्म, संघीय संसद रहँदासम्म विदेशी सैनिकहरुले यहाँ मार्चपास नसक्ने, विदेशी सैनिक प्रवेश गर्न नसक्ने, हस्तक्षेप गर्न नसक्ने, यो संसदले रोक्ने हुदाँ विदेशी सैनिक प्रवेश गराउन यो संसद भंग गराउन अनिवार्य रहेको र यही काम ओली सरकारले गरेको आरोप लगाउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुलाई चलखेल गर्नका लागि आधारभूमि तयार पारिदिएको नेता गुरुङको आरोप थियो ।
अहिलेको परिघटना २०१७ सालमा राजा महेन्द्रले गरेको ‘कू’ र २०५९ सालमा ज्ञानेन्द्र शाहले गरेको ‘कू’सँग सम्बन्धित रहेको र ओलीको अहिलेको कदम नसच्याए ढिलो चाँडो संकटकाल लागू हुने आशंकासमेत व्यक्त गर्नुभयो ।
गुरुङले केपी शर्मा ओलीमा भएको सर्वसत्तावादी चिन्तन, एकाधिकारवादी चिन्तन, निरंकूश प्रवृत्ति, फाँसिवादी चिन्तनको उपज र त्यो चिन्तनलाई विदेशी शक्ति केन्द्रहरुले क्यास गरेको भन्दै ओलीले पार्टीलाई सिध्याउने चाल चलेको आरोप गुरुङले लगाउनु भयो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यैचौको नेपाल भ्रमणको सन्दर्भमा सोधिएको एक प्रश्नमा नेता गुरुङले चीनले हालसम्म नेपालमा कुनै प्रकारको हस्तक्षेप नगरेको दाबीसमेत गर्नुभयो ।