मनकामना केबुलकार भोलिदेखि सात दिन बन्द हुने
Monday, December 28th, 2020, 12:04 pm
काठमाडौं । मनकामना केबुलकार भोलि देखि एक साता बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गर्न लागिएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । लकडाउन पछि यात्रुको चाप बढ्दै गए पनि केबलकार मर्मत कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार नियमित बृहत् मर्मतसम्भारको समयतालिकामा अनिवार्य सेवा बन्द गरी मर्मत गर्नुपर्ने भएकाले छ बन्द गर्न लागिएको उहाँको भनाइ छ । नियमित मर्मतसम्भारपछि पुस २१ गते मङ्गलबारदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।
मनकामना केबुलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुल्ला नै रहने मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा मापदण्ड अपनाएर दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ ।