संसद विघटनपछि अन्तर्राष्ट्रिय चलखेल सुरु भयो : योगेश भट्टराई
Monday, December 28th, 2020, 12:05 pm
नेपालगञ्ज
नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड– नेपाल समूहका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय चलखेल सुरु भएको बताउनु भएको छ।
प्रेस संगठन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गरेपछि नेपालमा अन्तर्राष्ट्रिय चलखेलको ढोका खुलेको बताउनु भयो । संसद विघटन गर्ने अधिकार संविधानले नदिए पनि अख्तियारको दुरुपयोग गरेर प्रधानमन्त्रीले संसदको विघटन गरेको भट्टराईको दाबी छ।
प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमले नेपाल पुनः अस्थिरतातर्फ जान थालेको र संसद विघटन गर्ने कदमबाट नेपाल र नेपालीलाई माया गर्ने विदेशी समुदाय पनि दुःखी भएको उहाँको भनाई छ ।
नेता भट्टराईले प्रधानमन्त्रीले संसद विघटन गरेर देशको राजनीतिक क्षेत्रमा भूकम्प आएको बताउँदै प्रदेश सरकारहरुमा सुरु भएको अविश्वासको प्रस्ताव त्यसको पराकम्प मात्रै भएको बताउनु भएको छ।
यस्तै, प्रधानमन्त्री ओलीले पार्टीका कमिटी र संसदीय दलमा बहुमत गुमाउँदा पनि पद नछोडेर हुकुमी शैलीमा पार्टी र सरकर चलाउन खोज्दा नेकपा विभाजन भएको नेता भट्टराईको जिकिर छ।