गाँजा ओसारप्रसारमा संलग्न टेम्पो चालक मोरङबाट पक्राउ
Monday, December 28th, 2020, 11:52 am
काठमाडौं । गाँजा लोड गरेर भारततिर लैजाँदै गरेको अवस्थामा एउटा अटो टेम्पो र त्यसका चालकलाई सशस्त्र प्रहरीले मोरङको जहदाबाट नियन्त्रणमा लिएको छ।
प्रहरीले राईविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन सोमबार म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
सिटमुनि ‘फल्स बटन’ बनाएर लुकाईछिपाई अवैध रुपमा गाँजा निर्यात गर्दै गरेको अवस्थामा को २ ह ४२४१ नम्बरको अटो टेम्पो नियन्त्रणमा लिएर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३१ वर्षीय गणेश राईलाई सशस्त्रले पक्राउ गरेको हो। सिटमुनि विशेष ढंगले ‘फल्स बटन’ बनाएर लुकाएको अवस्थामा २० किलो गाँजा जहदा गाउँपालिका–१ भुटाहाबाट बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानबाट नेपालको बाटो हुँदै ठूलो परिणामको गाँजा भारततिर लैजान खोजिएको पाइएको एसपी पौडेलले बताए। तत्काल सशस्त्र प्रहरीले रोक्न सकेका कारण भारततर्फ लैजाने योजना भने असफल भएको उनको भनाइ छ।
टेम्पोमा ठूलो परिणामको गाँजा बरामद भएपछि चालकलाई पनि नियन्त्रणमा लिएर कारबाही अघि बढाउन आइतबार साँझ इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको उनको भनाइ छ।
एसपी पौडेलका अनुसार विशेष सूचनाका आधारमा गाँजा नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल बीओपी जहदाबाट सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो। टोलीले शंकास्पद रुपमा सडकमा गुडिरहेको टेम्पोलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाँजा फेला पारेको हो।