तीन वटा पालिकामा विद्युतिय सुशासन प्रविधि जडान
Monday, December 28th, 2020, 11:43 am
डोटी
डोटीका जोरायल गाउँपालिका, केआईसिंह गाउँपालिका तथा शिखर नगरपालिकामा विद्युतीय सुशासन प्रविधि जडान भएको छ ।
सम विकास केन्द्र (ईडीसी) नेपाल डोटी र सेल एप प्रालिबीच गएको वर्ष भएको त्रिपक्षीय सम्झौताअनुसार विद्युतीय सुशासनको एप निर्माण गरी डिजिटल माध्यममार्फत नै हस्तान्तरण समेत भएको हो ।
सुशासन प्रविधिमा पालिकाको डिजिटल प्रोफाइल ई–गर्भनेन्स ड्यासबोर्ड र मोबाइल एप्स रहनेछन् । यसबाट पालिकाहरुको गतिविधि सार्वजनिक हुनुकासाथै पालिकाका बासिन्दाले उजुरी गर्न पाउने व्यवस्था समेत गरिएको छ ।
सम विकास केन्द्रले सञ्चालन गर्दै आएको परिवर्तन परियोजना अन्तर्गत नागरिक र नागरिक समाज संस्थाहरुको क्षमता विकास गर्दै सुशासनका हरेक प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता वृद्धि गरी पालिकाको सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रविधिको सुरुवात गरिएको हो।
सन् २०१९ मा तीन वटै पालिकालाई विद्युतीय सुशासन प्रविधिमार्फत स्मार्ट पालिकाको रुपमा विकसित गर्न भएको त्रिपक्षीय सम्झौता बमोजिम तीन वटै पालिकाको डिजीटल प्रोफायल, ई–गर्भनेन्स ड्यासबोर्ड र मोबाइल एप्सको कार्य सम्पन्न गरी कार्यान्वयनका लागि हस्तान्तरण गरिएको हो ।
युरोपियन युनियन, डीसीएको आर्थिक सहयोग र पालिकाहरुको सहकार्यमा सम विकास केन्द्र नेपालले यहाँका तीन वटै पालिकाहरुमा गएको वर्षदेखि परिवर्तन परियोजना सञ्चालन गर्दै आएको छ ।