‘घुमौं सौराहा’ अभियान सुरु, होटलमा २० देखि ४० प्रतिशत छुट
Monday, December 28th, 2020, 11:36 am
काठमाडौँ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुमौं सौराहा’ अभियान सञ्चालन गरिएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा ‘घुमौं सौराहा’ अभियान सञ्चालन गरिएको हो । होटलमा २० देखि ४० प्रतिशत छुटको प्याकेजसहित व्यवसायी देश दौडाहामा निस्किएका छन् ।
अभियान मार्फत पहिलो चरणमा प्रदेश १ र प्रदेश २ का विभिन्न सहर पुगेर व्यवसायीहरुले सौराहा आउन निम्तो दिएका छन् । पुस १० गते प्रदेश १ को धरान पुगेको टोलीले विराटनगर पछि प्रदेश २ को जनकपुर, बर्दिबास र वीरगञ्जमा आएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ ।
होटल तथा पर्यटन व्यवसायी, उद्योगी, स्थानीय जनप्रतिनिधि, ट्राभल एण्ड टुर्सका प्रतिनिधि लगायत सरोकारवालालाई भेटेर उनीहरुले सौराहा आउन आग्रह गरेका हुन् । होटल व्यवसायी संघलाई अभियानमा जिल्ला समन्वय समिति, चितवन, रत्ननगर नगरपालिका र नेपाल पर्यटन बोर्डले अभियानमा साथ दिएको छ ।
वीरगञ्जबाट नै देशभर पर्यटक जाने भएपनि नाका हुँदै भारतीय पर्यटकलाई आउन रोक लाग्दा व्यवसायले गति लिन नसकेको वक्ताहरुको ठहर छ ।
क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष सुमन घिमिरेले बाह्य पर्यटकको भरले मात्रै व्यवसाय सञ्चालन नहुने देखेर आन्तरिक पर्यटन प्रवद्धनका लागि अभियान शुरु गरिएको बताए ।
रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले विशेष छुट सुविधाका कारण दुईजना घुम्ने पैसाले सौराहामा पूरा परिवार घुम्न सक्ने बताए ।
‘पर्यटन क्षेत्रमा ७० प्रतिशत भन्दा बढी भारतीय पर्यटक आउँछन् । तर कोरोना नियन्त्रणको नाममा नाका बन्द गरिएको छ,’ उनीहरुले भनेका छन्, ‘यसले पर्यटन क्षेत्रलाई झनै ध्वस्त पारिरहेको छ । पर्यटन क्षेत्रलाई माथि उठाउन नाका खोल्नुको विकल्प छैन ।’