नेकपाका अधिकांश ठाउँका पाटी कार्यालयमा दोहोरो तालाबन्दी,कहाँको अबस्था कस्तो छ ?
Monday, December 28th, 2020, 11:33 am
काठमाडौं । नेकपाका दुई समूहबीच केन्द्रमा भएको विवाद प्रदेश तथा स्थानिय तहसम्म पुगेको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी कार्यालय कब्जा र तालाबन्दी बढेको छ । प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षबीच कार्यालयहरूमा स्वामित्व दाबी गर्ने होडबाजी नै चलेको छ । प्रधानमन्त्री केपी ओलीले गर्नुभएकोे संसद बिघटन पश्चात पार्टी कार्यालय कब्जाको लहर चलेको हो ।
नेकपा कञ्चनपुर जिल्ला कार्यालयमा आइतबार दिउँसो साढे १२ बजेतिर अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको भेला थियो । अर्का अध्यक्ष केपी ओली समूहले भेला आयोजना गर्न नदिन मूलगेट, कार्यालय र सभाकक्ष तीन ठाउँमा तालाबन्दी गरेकाके थियो । लगत्तै मूल गेटमा लगाएको ताला प्रचण्ड–नेपाल समूहले तोड्यो । कार्यालय र सभाकक्षका ताला पनि दुई पक्षबीच मौखिक सहमतिपछि खोलियो ।
यस्तै कैलालीस्थित नेकपा प्रदेश, जिल्ला र नगर कमिटीहरूका कार्यालयमा दुवै पक्षले ताला लगाएका छन् । अत्तरियास्थित गोदावरी नगर कमिटी कार्यालयमा प्रचण्ड–नेपाल समूहले दुई दिनअघि ताला लगाएको थियो । केहीबेरमै ओली पक्षले तोडेर छुट्टै ताला लगाएको छ ।
धनगढीस्थित नेकपा जिल्ला कार्यालयमा प्रचण्ड–नेपाल समूहले सधैँ लगाउने तालामाथि अर्को ताला पनि झुन्ड्याएको छ । ओली समूहलाई पार्टी कार्यालय प्रयोग गर्ने अधिकार नभएकाले थप ताला लगाइएको प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेता रमेश भट्टराईले बताए ।
जनकपुरमा नेकपाका दुईवटा कार्यालय छन् । पूर्वमाओवादी पार्टी कार्यालयमा नेकपा जिल्ला र पूर्वएमालेको कार्यालयमा प्रदेश कार्यालय छ । जिल्ला कार्यालयमा नेकपा समर्थक युवा फाट्टफुट्ट देखिए पनि मिथिला भवनमा सुरक्षाकर्मी मात्र छन् ।
यस्तै नेकपा सिराहा जिल्ला कार्यालय प्रचण्ड–नेपाल समूहका कार्यकर्ताको नियन्त्रणमा छ । सदरमुकाम सिराहास्थित कार्यालय आफूहरूको नियन्त्रणमा रहेको प्रदेश–२ का सांसद तथा नेकपा जिल्ला सचिव प्रमोदकुमार यादवले बताए । अहिले पार्टी कार्यालय बन्द छ । अर्को पक्षले दाबी गर्न नसक्ने उनको भनाइ छ ।
गत बिहीबार बिहान ओली र प्रचण्ड–नेपाल पक्षबीच नुवाकोट सदरमुकाम विदुरस्थित पार्टी कार्यालयमा ताला फोडाफोड भयो । ओखलढुंगामा पनि नेकपा पार्टी कार्यालयमा दुईवटा ताला लागेका छन् । देशभरका नेकपा पार्टी कार्यालयमा झडप बढ्न थालेपछि गृह मन्त्रालयले चौबीसै घन्टा सुरक्षाकर्मी खटाउन प्रमुख जिल्ला अधिकारीहरू र प्रहरीलाई निर्देशन दिएको छ ।