बङ्गलादेशबाट खरिद गरिएको मल पुस अन्तिम साता आइपुग्ने
Sunday, December 27th, 2020, 4:32 pm
काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको थियो ।
मल खरीदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको बताएको छ । मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रवार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको बताएको छ ।
नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरीदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरीद शुरु हुनेछ ।
कृषि सामग्री कम्पनीले यसअघि नै मल ढुवानीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफसँग सम्झौता गरिसकेको छ । उक्त कम्पनीले रेलमार्गबाट वीरगञ्ज, विराटनगर र भैरहवामा मल ल्याउनेछ । बङ्गलादेशबाट मल आएपछि आगामी दिनमा मलको अभाव नहुने कम्पनीले बताएको छ ।