एपिएफले हरायो प्रदेश २ लाई, एपिएफ र लुम्बिनी सेमिफाइनलमा
Sunday, December 27th, 2020, 4:21 pm
काठमाडौं । दाङको लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा एपिएफले प्रदेश २ हराएको छ ।
आज भएको खेलमा विभागिय टोली एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेको हो । जितसगैं एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको छ भने एपीएफको जितका कारण लुम्बिनी पनि सेमिफाइनलमा पुगेको छ ।
समूह ए बाट भएको दुवै खेल जितेका विभागीय टोली एपिएफ र लुम्बिनी प्रदेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
साथै सुरुवाती दुवै खेल हारेका समूह ए का कर्णाली र प्रदेश २ भने बाहिरिएका हुन् ।
आइतबार भएको खेलमा एपीएफलाई प्रदेश २ ले जितको लागि ७३ रनको सामान्य लक्ष्य दिएको थियो । एपीएफ सो लक्ष्य १३.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो ।
टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनायो । प्रदेश २ की ओपनर अनुराधा चौधरीले सर्वाधिक १८ रन, ओपनर सोभा आले र अनुराधा चौधरीले ७ ओभरमा २७ रनको साझेदारीको योगदान दिएका थिए ।
एपिएफका लागि ओपनर ज्योती पान्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३० रनको योगदान दिइन् । एपीएफको जितमा कप्तान सीता राना मगरले १८, सरिता मगरले ६ र इन्दु बर्मा १ रन जोडिन् भने कविता गौतम र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिइन् ।
समूह ए को अन्तिम खेलमा सोमबार पहिलो खेलमा प्रदेश २ र कर्णाली खेल्ने छन् । जुन प्रतिष्ठाको लडाई हुने छ । दोस्रो खेलमा लुम्बिनी र एपिएफ भिड्ने छन् । जसबाट समूह विजेता र उप विजेता निर्धारण हुने छ ।