डा. गोविन्द केसीले भने, देश ओली र भण्डारीको निजी सम्पत्ति होइन
Sunday, December 27th, 2020, 4:20 pm
काठमाडौँ
देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति नभएको डा. गोविन्द केसीले बताउनु भएको छ ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता गोविन्द केसीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अवैध र अनधिकृत रहेको जनाउँदै संविधान र विधिको शासनलाई निस्सर्त स्थापित गर्नुपर्ने माग गर्नुभयो।
केसीले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अधिनायकवादी प्रवृत्तिको विरोध गर्नुपर्नेमा जोड दिनु भयो । संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई दण्डित गर्नुपर्ने केसीको धारणा छ ।
यसै गरी कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्र लाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ भन्दै अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएको बताउँदै कसैको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना नभएको उल्लेख गर्नु भएको छ ।
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको कदमलाई न्यायालयले सच्याइदिने नागरिकहरूको अपेक्षा रहेको जनाउंदै केसीले यति बेला न्यायालय पनि अग्निपरीक्षामा रहेको जनाउनु भएको छ ।
सत्तारूढ दलको केपी ओली गुटबाहेक अन्य गुट र दलका नेताहरूलाई आफू सत्ताबाट लखेटिएको बेला मात्रै विधिको शासन याद आउने विडम्बनापूर्ण अवस्था अन्त्य हुनुपर्ने धारणा पनि केसीको रहेको छ ।