वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य हुन्छः श्रम मन्त्री चौधरी
Sunday, December 27th, 2020, 4:09 pm
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका हुन् ।
मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन लागिपर्ने जनाएका छन् ।