ओलीले चुनाव गराउँछन् भन्ने भ्रममा नपर्न कांग्रेसलाई बाबुरामको आग्रह
Sunday, December 27th, 2020, 4:04 pm
काठमाडौं
चुनाव हुन्छ भन्ने भ्रममा नपर्न जनता समाजवादी पार्टी ९जसपा०का नेता डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ।
संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासन गर्ने ध्येयमा रहेको र ओलीले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने ठोकुवा गर्नु भयो । भट्टराईले चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ, सरकार चलाउँछ भन्ने भ्रममा नपर्न कांग्रेसलाई आग्रह गर्नुभयो ।
पञ्चायत र ज्ञानेन्द्र शाहले पनि चुनाव घोषणा गरेको स्मरण गर्दै भट्टराईले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भन्नेमा कुरामा पनि आफू ढुक्क हुन ननसकेको बताउनु भयो । अदालत जहिले पनि सार तत्वमा नजाने र न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जाने हुदाँ अदालतबाट आशा गर्न सकिएपनि भर गर्ने ठाउँ नभएको तर्क गर्नु भयो ।
यसबाहेक अर्को विकल्प भनेको सार्वभौम अधिकार प्रयोग गरेर संंसद बोलाउने भएको र अत्याधिक सांसदहरु विघटन गलत छन् भन्ने पक्षमा रहेकोले सभामुखले सबै खालको बैठक बोलाउने र संसदको बैठक राख्नुपर्ने उहाँले बताउनु भयो ।
साथै, ओलीको निरंकुश शासन फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्ने भन्दै सबै लोकतन्त्र प्रेमीहरुमा सहकार्यका लागि समेत आग्रह गर्नु भयो ।