ओखलढुंगा नेकपा पार्टी कार्यालयमा दुवै समूहले लगाए ताला
Sunday, December 27th, 2020, 1:40 pm
काठमाडौं । ओखलढुंगा नेकपाको पार्टी कार्यालयमा दुईवटा ताला लागेका छन् । शनिबार प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमा ताला लगाएपछि आज बिहान केपी ओली समूहले अर्को ताला लगाएको हो ।
औपचारिक फुटको घोषणा हुन मात्र बाँकी रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद जिल्लामा पनि उग्र बन्दै गएको छ । पार्टी कार्यालय कसको हुने भन्ने विवाद देशभर चलिरहेका वेला ओखलढुंगामा पनि जिल्ला पार्टी कार्यालयमा दुई पक्षले आ–आफ्ना ताला लगाएको नेकपाका नेता नेत्र भट्टराईले बताए ।
नेता भट्टराईका अनुसार विगतमा कार्यालयमा लगाउने ताला फेरेर प्रचण्ड–नेपाल समूहले नयाँ ताला लगाएका थिए । पार्टी कार्यालयमा दुवै पक्षका ताला लागेपछि नेकपाका नेता कार्यकर्ता होटेल र व्यक्तिका घर तथा सार्वजनिक स्थलमा बसेर आ–आफ्ना कार्यक्रम बनाइरहेका छन् । आज प्रचण्ड–नेपाल समूहको आकस्मिक बैठक बस्ने कार्यक्रम तय भएको थियो ।
पार्टी कार्यालयमा अर्को पक्षले ताला लगाएपछि उक्त बैठक प्रभावित भएको स्रोतले जनाएको छ । सदरमुकामस्थित एक व्यक्तिको घरमा भेला भएका प्रचण्ड–नेपाल समूहका नेताले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
जिल्लामा पक्ष–विपक्ष भएर विवाद गर्ने योजना नरहेको भए पनि प्रचण्ड–नेपाल पक्षले पार्टी कार्यालय कब्जा गर्ने उद्देश्यले ताला लगाएपछि त्यसको प्रतिवाद गरिएको ओली पक्षका नेता अशोक थापाले बताएका छन् ।