चीनकोे राष्ट्रिय रक्षा कानून संशोधनः जनवरी १ देखि लागु हुने
Sunday, December 27th, 2020, 1:05 pm
काठमाडौं । चीनले आफ्नो राष्ट्रिय रक्षा कानूनमा नयाँ संशोधन ल्याएको छ । नयाँ रक्षा विधेयकले कार्य तथा लक्ष्यहरूलाई नवीकरण गर्नुका साथै नीतिहरूलाई बलियो बनाएको छ । चीनको सर्वोच्च रक्षा निकाय सेन्ट्रल मिलिटरी कमिसन अन्तर्गतको विधायिकी ब्यूरोमा काम गर्ने एक अधिकारीले संशोधित रक्षा विधेयकले रक्षात्मक राष्ट्रिय रक्षानीति अपनाउने र अन्तर्राष्ट्रिय सैन्य संवाद तथा सहकार्यलाई सक्रिय रूपमा प्रवर्द्धन गर्ने स्पष्ट उल्लेख गरेको बताउनुभयो । यसले चीनको युद्धविरोधी तथा शान्तिप्रेमी विश्वास झल्किने उहाँको भनाइ छ ।
चिनियाँ संसद् नेसनल पिपुल्स कंग्रेसको १३औं अधिवेशनको स्थायी कमिटीको २४औं सत्र हिजो सम्पन्न भएको हो । त्यसले अनेकौं कानून पारित गरेको छ जसमा संशोधित राष्ट्रिय रक्षा कानून पनि संलग्न छ । नयाँ कानून जनवरी १ अर्थात् शुक्रवारबाट लागू हुने बताइएको छ ।
यस कानूनअनुसार, देशले राष्ट्रिय रक्षा क्षेत्रमा लगानीका लागि योग्य नागरिक तथा संस्थालाई उत्प्रेरित र समर्थन गर्ने, उनीहरूको वैध अधिकार र चासोको प्रत्याभूति गर्ने तथा उनीहरूलाई कानूनबमोजिम प्राथमिकतापूर्ण नीति उपलब्ध गराउनेछ ।
सबै नागरिकका लागि राष्ट्रिय सुरक्षा बलियो बनाउने तथा उनीहरूको राष्ट्रिय रक्षा क्षमतामा सुधार ल्याउने पनि उल्लेख छ । सशस्त्र बल निर्माणका लागि कार्य तथा लक्ष्य निर्धारण गर्ने, नयाँ सुरक्षा क्षेत्रमा रक्षा आवश्यकतालाई सम्बोधन गर्ने, प्रमुख सुरक्षा क्षेत्रका रक्षा नीतिलाई स्पष्ट पार्ने र सैन्य अधिकृतका अधिकार रक्षा गर्ने प्रावधान पनि थपिएका छन् ।