बुटवलको आइसियूबाटै भागे कोरोना संक्रमित
Sunday, December 27th, 2020, 12:42 pm
काठमाडौं । बुटवलको धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालबाट एक जना कोरोना संक्रमित फरार भएका छन् । फरार भएका संक्रमित लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल १० रामनगरस्थित धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना भएका थिए ।
बुटवल १३ बेलबासका ५५ वर्षीय पुरूष आज बिहानै साढे ५ बजेतिर अस्पतालको शौचालयबाट फरार भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि उनी पुस ८ गतेदेखि कोरोना अस्पतालको आइसियूमा भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था सुधारउन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नभइसकेको भए पनि उनले हिजै डिस्चार्ज गरिदिन आग्रह गर्दै आएको डा. थापाले जानकारी दिनुभयो ।
आज बिहान भने शौचालयबाट भागेपछि उनको खोजी भइरहेको अस्पतालले जनाएको छ । अस्पतालबाट बिरामी भागेको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराए पनि उनको बारेमा अहिलेसम्म जानकारी हुन नसकेको प्रहरीले जनाएको छ।
ती पुरूषलाई अस्पताल भर्ना हुने बेलामा परिवारका सदस्यले मानसिक औषधी सेवन गरिरहेकाले निगरानी गरिदिन अनुरोध गरे अनुसार उनलाई निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।