लोडसेडिङले होइन, प्राविधिक कारणले बत्ती गएको होः विद्युत् प्राद्यिकरण
Sunday, December 27th, 2020, 12:43 pm
काठमाण्डौ । पछिल्लो समय काठमाण्डौ लगायत विभिन्न सहरमा दैनिकजसो झ्याप्प, झ्याप्प बिजुली जान थालेको छ ।
प्राधिकरणका अनुसार अस्ति शुक्रबार यो वर्षकै सबैभन्दा बढी विद्युत खपत भएको छ । त्यसदिन २ करोड ५१ लाख युनिट विद्युत खपत भएको प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले बताउनुभयो । अघिल्लो वर्षको पुष १० गते अर्थात् यहीदिन २ करोड ३३ लाख युनिट विद्युत खपत भएको थियो । अहिले नेपालमा विद्युत उत्पादनको क्षमता १३ सय ६२ मेगावाट छ ।
हिउँदको समयमा नेपालको उत्पादन क्षमताले माग धान्न नसकेपछि प्राधिकरणले भारतबाट समेत विद्युत खरिद गर्ने गरेको छ । अहिले ५ सय २० मेगावाट प्राधिकरणबाट, निजी क्षेत्रबाट ३ सय २० मेगावाट र बाँकी भारतबाट खरिद गरेर माग धान्ने गरिएको छ ।
प्राधिकरणले यो वर्ष पनि भारतबाट २ सय ५० सय मेगावाटसम्म बिजुली ल्याउनको लागि सम्झौता नवीकरण गरिसकेको छ ।
विद्युत प्राधिकरणको लापरबाहीले लोडसेडिङ सुरु भएको भन्दै नागरिकको गुनासो बढेको छ । तर, जाडो सुरु भएसँगै नेपालमा विद्युत खपत पनि बढ्दै गएका कारण उपकरणले धान्न नसक्दा केही ठाउँमा बिजुली गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
तर नेपालका धेरैजसो जलविद्युत आयोजना रन अफ दि रिभर अर्थात् बगिरहेको नदी प्रणालीमा आधारित रहेकाले हिउँदको समयमा कुल क्षमताको आधा पनि विद्युत उत्पादन हुँदैन । तर वर्खाको समयमा भने नेपालमा उत्पादित बिजुली धेरै हुन थालेको छ ।