श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै
Sunday, December 27th, 2020, 11:56 am
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् । यसको व्यवस्था वैदेशिक रोजगार विभागले मिलाएको हो । यो सुविधाका कारण जहाँसुकै रहेका नेपालीले श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने बाध्यकारी अवस्था हट्ने छ ।
पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि, राहदानीको प्रतिलिपि, अघिल्लो पटक र हाल प्राप्त गरेको भिसा, रोजगार करारपत्र, जीवन बिमा र कल्याणकारी कोषमा रकम भुक्तानी गरेपछि दूतावासले सहजै पुनस् श्रम स्वीकृति दिन सक्नेछ । कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डेढ वर्षअघि नै वैदेशिक रोजगार नियमवाली–२०७६ लाई पाँचौं पटक संशोधन गरी श्रमिकले नेपाली दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्न दिने व्यवस्था गरे पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन । वैदेशिक रोजगार विभागले दुई वर्षका लागि मात्रै श्रम स्वीकृति दिने गरेको छ । एउटै कम्पनीमा निरन्तर काम गर्न चाहेमा श्रमिकले अवधि थप गर्न विभागबाट पुनस् श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । गत आर्थिक वर्षमा मात्रै दुई लाख ७२ हजार जनाले विभागबाट पुनस् श्रम स्वीकृति लिएका थिए ।
‘अनलाइनमार्फत नै पुनस् श्रम स्वीकृति पाउनुपर्ने मागलाई सरकारले सम्बोधन गरेको छ,’ गैरआवासीय नेपाली संघका प्रवक्ता डीबी क्षत्रीले भने, ‘करार अवधि सकिनासाथ स्वदेश जान नपाउने श्रमिकलाई ठूलो राहत मिलेको छ । यसले आर्थिक रूपमा पनि श्रमिकलाई फाइदा पुर्याउँछ ।’ बिदामा आएर पुनस् श्रम गन्तव्यमा फर्किने कामदारको स्वीकृतिको म्याद तीन महिनाको भए मात्रै अध्यागमनले विदेश जाने अनुमति प्रदान गर्ने गरेको छ । श्रम स्वीकृतिको अवधिभित्र दुर्घटना वा अंगभंग भएमा मात्रै वैदेशिक रोजगार बोर्डबाट पाउने सुविधा प्राप्त गर्न सकिन्छ ।
श्रम स्वीकृतिको म्याद नसकिएको अवस्थामा कामदारको मृत्यु भएमा उसको परिवारले बिमाबापत कम्तीमा १० लाख र बोर्डबाट ७ लाख रुपैयाँ प्राप्त गर्न सक्छन् । यस्तै मृतकका बालबालिकालाई सरकारले १२ कक्षासम्म निस्शुल्क पढाइदिने व्यवस्था पनि गरेको छ र परिवारलाई उपचारका लागि ५० हजारसम्म दिने गरेको छ । विभागका अनुसार बिदामा नेपाल आएका श्रमिक पनि श्रम स्वीकृतिका लागि प्रदेश र केन्द्रमा तोकिएको कार्यालयमा धाइराख्नु पर्दैन । काठमाडौं कार्यालयबाटै मात्रै श्रम स्वीकृतिको नवीकरण हँुदा चाप बढेपछि सरकारले २०७५ को पुस १५ गतेदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारका लागि पुनस् श्रम स्वीकृति दिन थालेको थियो ।
विदेशमा रहेका नेपालीले विदेशबाटै श्रम स्वीकृति नवीकरण गर्न पाइने भएपछि दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका हुन् । कोभिड–१९ को महामारी सुरु भएपछि श्रम स्वीकृति नवीकरणका लागि स्वदेश फर्किन पाएका थिएनन् । विभागका अनुसार केही दिनभित्रै अनलाइनको नयाँ प्रणाली कार्यान्वयनमा आउनेछ ।