सन् २०२८ मा अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने
Sunday, December 27th, 2020, 11:51 am
काठमाडौं । सन् २०२८ मा अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने जनाएको छ । यसअघि सन् २०३२ मा चीन विश्वको एक नम्बर अर्थतन्त्र हुने बताइएको थियो । सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्च(सिइबिआर) ले प्रकाशित गरेको प्रतिवेदनका अनुसार कोरोना भाइरस रोकथाममा यी दुई देशले देखाएको प्रतिक्रियाले यस्तो देखाएको हो ।
प्रतिवेदनमा केही समयदेखि दुबैदेशबिच अर्थतन्त्र र सफ्ट पावरको शक्तिसंघर्ष मुख्य रूपमा चलिरहेको उल्लेख छ । सिइबिआरले कोरोना रोकथाममा चीनले सुरूमै अपनाएको कडा लकडाउनसहितको कुशल व्यवस्थापन र कोरोनाका कारण पश्चिमले भोग्नुपरेको आर्थिक सुस्तताले उनीहरूको दीर्घकालिन वृद्धिमा पारेको प्रभाव जस्ता कारणले तुलनात्मकरूपमा चीनको आर्थिक प्रदर्शनलाई सुधारेको छ ।
प्रतिवेदनले सन् २०२६ देखि ३० सम्म ४.५ प्रतिशतमा सुस्त हुनुअघि चीनको औषत आर्थिक वृद्धिदर सन् २०२१ देखि २५ सम्म प्रति वर्ष ५.७ प्रतिशत रहने जनाएको छ । यस्तै आगामी वर्ष कोरोनाका कारण थलिएको अमेरिकी अर्थतन्त्र पुनः लयमा फर्किने ठानिएको भएपनि सन् २०२२ र २०२४ को बिचमा वार्षिक वृद्धिदर १.९ प्रतिशतले कम हुने र त्यसपछिका वर्षमा त्यो १.६ हुनेछ ।
यस्तै सन् २०३० को सुरूसम्म जापान डलरका हिसाबले तेश्रो ठूलो अर्थतन्त्र रहने र त्यसपछि भने भारतले उछिन्नेछ । जर्मनी चौथो ठूलो अर्थतन्त्र भएको मुलुकबाट पाँचौमा झर्नेछ । यस्तै हाल विश्वको पाँचौ ठूलो अर्थतन्त्र रहेको संयूक्त अधिराज्य सन् २०२४ मा छैटौं स्थानमा झर्ने सिइबिआरको प्रतिवेदनमा उल्लेख छ । युरोपियन युनियनबाट बाहिरिएपनि सन् २०३५ मा ब्रिटेनको कुल ग्राहस्थ उत्पादन डलरमा फ्रान्सको भन्दा २३ प्रतिशतले माथि हुने प्रक्षेपण गरिएको छ । यसमा उसलाई डिजिटल अर्थतन्त्रमा उसले लिने नेतृत्वले सघाउनेछ ।
युरोपियन युनियन विश्व अर्थतन्त्रमा सन् २०२० मा विश्वको शीर्ष १० अर्थतन्त्रमा १९ प्रतिशत योगदान रहेको छ। युनियन र ब्रिटेनबिच गम्भीर विभाजन भए सो हिस्सा सन् २०३५ सम्म १२ प्रतिशत वा सो भन्दा तल झर्ने सिइबिआरले बताएको छ । यता, भारत पनि सन् २०३० सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बताइएको छ । सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा आफ्नो रिपोर्ट सार्वजनिक गदै आएको छ ।