चितवनमा प्रधानमन्त्री ओलीको पक्षमा नारासहित प्रदर्शन तथा दीप प्रज्वलन
Sunday, December 27th, 2020, 8:15 am
काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज साँझ चितवनको कालिका नगरपालिकास्थित खोलेसिमल बजारमा प्रदर्शन गरिएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा सङ्घ र अनेरास्ववियुको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले ओलीको कदमको समर्थन गरेका हुन् ।
पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद् विघटन गरी मध्यावधि चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठकले बताउनुभयो ।

प्रदर्शनमा सहभागी युवा विद्यार्थी नेताहरूले प्रधानमन्त्री केपी ओली जिन्दाबाद, जनताको बहुदलीय जनवाद जिन्दाबाद, आजलाई होइन भोलिलाई हाम्रो समर्थन संस्थापन पक्ष ओलीलाई लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल , कालिका नगरपालिका नेकपाका नेता केशव लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा उनीहरूले प्रधानमन्त्री केपी ओलीको समर्थनमा दीप प्रज्वलन समेत गरेका छन् । रेडियो नेपाल