प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
Saturday, December 26th, 2020, 3:12 pm
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन अपिल गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा विरोध आयोजना गरेको छ ।
सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सहभागी हुन सबै नागरिकलाई अपिल गर्नु भएको हो ।
विज्ञप्तिमा देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसमा एकमत भएको उल्लेख गर्दै भन्नु भएको छ, “विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ । जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।”
कान्तिपुर अनलाईनका अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई असंवैधानिक भने पनि प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउन नहुने पक्षमा दृढ दखिनु भएको छ । उहाँले केन्द्रीय कार्यसमितिको जारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्ने सदस्यलाई समेत ‘अदालतमा प्रवेश गरेको विषय’ भन्दै नबोल्न आग्रह गर्दै आउनु भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्ने तर पुनःस्थापनाको माग उठाउन नहुने देउवाको भनाइ छ ।