हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि सर्लाही प्रशासनद्वारा कर्फ्यु जारी
Saturday, September 19th, 2020, 2:11 pm
सर्लाही, ३ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा बजारमा कर्फ्यु आदेश जारी गरेको छ। शनिबार साढे १ देखि आइतबार बिहान ८ बजेसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
शुक्रबार मलंगवा ३ विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि हिन्दु र मुस्लिम समुदायबीच वादविवाद भएको थियो भने सोही विवाद बढेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनका अनुसार डिजे बजाएको निहुँमा वादविवाद भएको विषयमा शुक्रबार बिहान फेरि दुई समुदाय आमनेसामने भएका थिए। हिन्दु र मुस्लिम पक्षबीच उक्त विषयलाई लिएर तनाव बढेपछि कर्फ्यु लगाइएको हो।
शनिबार बिहानै दुवै समुदाय निस्केपछि तनाव झनै बढेको हुनाले दुई समुदायबीच अप्रिय स्थिति आउन नदिन कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ।