अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर सरकार : नेपाल चिकित्सक संघ
Friday, September 18th, 2020, 1:56 pm
काठमाण्डौ, २ असोज । जुम्लामा अनशनरत डा. गोविन्द केसीका जायज माग सम्बोधन गर्दै जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ। संघका अनुसार डा. केसी अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ।
संघका महासचिव डा. बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै केसीका माग वार्तामार्फत सम्बोधन गर्न भनिएको छ।
‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायेज मागहरुको स्म्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका प्रा. डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औं अनशनमा छन् भने उनी निकट चिकित्सकरुले डा. केसीको स्वास्थ्य जटिल हुँदै गएको बताएको छ।