पोखरामा जबरजस्ती चन्दा उठाउँने विप्लव समूहका २ जना पक्राउ
Friday, September 18th, 2020, 11:25 am
पर्वत, २ असोज । कास्की प्रहरीले जबरजस्ती चन्दा असुली गरिरहेको अवस्था नेकपा (विप्लव समूह) का दुई जनालाई पोखराबाट पक्राउ गरेको छ।
गत भदौ ३१ गते दिउँसो करिब साढे ३ बजेको समयमा कास्कीको पोखरा महानगरपालिका–६ हल्लनचोकमा जबरजस्ती चन्दा संकलन गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–७ मोतिडाँडा घर भई काठमाण्डौका तारकेश्वर नगरपालिका–७ मनमैजु बस्दै आएका २७ वर्षीय रबिन केसी भन्ने ध्वजबहादुर रावत र रोल्पाको गंगादेवी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–१६ गोङ्गबु बस्दै आएका २२ वर्षीय रामकुमार डाँगीलाई पक्राउ गरेको हो।
पक्राउ परेका रावत नेकपा विप्लव समूहका अखिल क्रान्तिकारी, काठमाडौं जिल्ला कमिटी सदस्य र सोही डाँगी विप्लव समूहकै अखिल क्रान्तिकारीमा आबद्ध रहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट चन्दाबापत लिएको नगद एक लाख रुपैयाँसहित चार थान मोबाइल सेट, एउटा मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको नेकपा (विप्लव समूह) केन्द्रीय समितिको एक थान रसिद बरामद भएको छ।
उनीहरूविरुद्ध चन्दा ऐनसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ।