सप्तरीका कोरोना संक्रमित पुरुषको धरानमा उपचारका क्रममा मृत्यु
Wednesday, September 16th, 2020, 11:03 am
धरान, ३१ भ्दौ । धरानमा सप्तरीका एक मृगौला पीडित पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्प्तालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा डायलासिस सेवा लिइरहेका मृतकमा सोमबार संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएको ३५ वर्षीय युवकको अवस्था गम्भीर बने पछि मङ्गलबार राजविराजबाट धरान रेफर गरिएको राजविराजस्थित अस्पतालले जनाएको छ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाका अनुसार कोरोना पोजिटिभ देखिएका ती युवकलाई मङ्गलबार प्रतिष्ठान भर्ना गरिएकोमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।
योसंगै हालसम्म सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।