कक्षा १२ का विद्यार्थी विवरण एक साताभित्र उपलब्ध गराउन बोर्डको निर्देशन
Tuesday, September 15th, 2020, 6:13 pm
काठमाण्डौ, ३० भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का सबै विद्यार्थीको सम्पूर्ण विवरण सात दिनभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन विद्यालयहरुलाई निर्देशन दिएको छ।
परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरु मध्ये कोभिड–१९ महामारीका कारण के कति विद्यार्थी विद्यालयभन्दा फरक जिल्ला र स्थानमा बसोबास गरिरहेका छन भनी तथ्यांक संकलन गर्न बोर्डले विवरण माग गरेको हो।
परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० का उप–नियन्त्रक महेश्वर शर्माले विद्यार्थीको सबै विवरण बुझाउन सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्।
शर्माका अनुसार कोरोनाका कारण विद्यार्थीहरु चारैतिर छरिएर रहेका बेला के कति विद्यार्थीहरु कहाँ र कुन अवस्थामा छन भनी बुझ्नका लागि ती विद्यार्थीको विवरण सात दिन भित्रमा बुझाउन निर्देशन दिइएको हो। स्कुलले विद्यार्थी बसोबास गरिरहेको नजिकै १२ कक्षा सञ्चालन भइरहेको विद्यालयको नाम र ठेगाना हाम्रो सम्बन्धित निकायमा बुझाउनुपर्ने उनले बताएका छन्।
सबै विद्यार्थीहरुको अवस्थाबारे विवरण पाइसकेपछि मात्रै कक्षा १२ को परीक्षाबारे निर्णय लिइने छ।