शैक्षिक सत्र खेर नजाने गरी पाठ्यवस्तुको ढाँचा २०७७ लाई शिक्षा मन्त्रालयले स्वीकृती दियो
Tuesday, September 15th, 2020, 6:00 pm
काठमाण्डौ, ३० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यवस्तु समायोजन ढाँचा २०७७ स्वीकृत गरेको छ।
शैक्षिक सत्र खेर जान नदिने गरी पाठ्यवस्तु संश्लेषण गरी ढाँचा स्वीकृत गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्।
यो शैक्षिक सत्रको करिब पाँच महिना सकिएका बेला बाँकी रहेका महिनामा सिकाइ निरन्तरता दिन र चैतमै शैक्षिक सत्र सकिने गरी पाठ्यवस्तु संश्लेषण गरिएको हो।
मन्त्री पोखरेलका अनुसार विद्यार्थीलाई अनलाइन, घर नै शिक्षालयजस्ता वैकल्पिक विधिबाट सिकाइ निरन्तरता दिने र परीक्षासमेत गरिनेछ।
मन्त्री पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी उक्त पाठ्यवस्तु ढाँचा स्वीकृत गरेकोबारे जानकारी दिएका हुन्।
मंसिर र चैतमा विद्यार्थीको परीक्षा हुने पाठ्यवस्तु समायोजन ढाँचामा उल्लेख गरिएको छ भने कोरोना महामारी रहिरहेमा घरघरमै प्रश्नपत्र पठाएर भए पनि परीक्षा लिन सकिने विकल्प समेटिएको छ।
विद्यार्थीले पढ्नुपर्ने पाठ्यपुस्तकका विषयवस्तुलाई छोट्याएर कम भार पर्ने गरी ढाँचा सार्वजनिक गरिएको हो। जसलाई पाठ्यक्रम समायोजन गरिएको भनिएको छ।
शिक्षा मन्त्री पोखरेलले शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तु छुट्याउने आधारसहित नमूना ढाँचा प्रस्तुत गरिएको र पाठ्यवस्तु समायोजन गर्न एकीकरण, समूहीकरण, प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरेको पनि जानकारी दिएका छन्।
उनका अनुसार विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्यांकन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ।
यसैगरी मन्त्री पोखरेलले पाठ्यवस्तु ढाँचा अनुसार सिकाइलाई निरन्तरता दिन पनि आग्रह गरेका छन्।
त्यस्तै मन्त्री पोखरेलले पाठ्यवस्तु ढाँचालाई अनुसरण गरी स्थानीय परिवेशअनुकूल सिकाइलाई निरन्तरता दिई बालबालिकाको पढ्न पाउने हकलाई सुनिश्चित गर्दै शैक्षिक क्षति हुन नदिन समस्त सरोकारवालामा अनुरोध गरेका छन्।