उपत्यकाका अस्पताललाई होम आइसोलेसनमा रहेका संक्रमितलाई आकस्मिक सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
Tuesday, September 15th, 2020, 5:42 pm
काठमाण्डौ, ३० भदौ । काठमाण्डौ उपत्यकाका सबै अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई आकस्मिक सेवा प्रदान गर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार होम तथा होटल आइसोलेसनमा रहेका संक्रमितहरू आकस्मिक सेवा लिनबाट बञ्चित भएको जनगुनासो आएको हुनाले त्यस्ता संक्रमितहरूलाई तत्काल सेवा प्रदान गर्न अस्पतालहरूलाई निर्देशन दिइएको छ।
मन्त्रालयले टेकु अस्पतालसहित, पाटन, टिचिङ, भक्तपुर र सबै अस्पतालहरूलाई होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई आकस्मिक सेवा प्रदान गर्न भनेको छ।
अस्पतालहरूले कोरोना पोजेटिभ भएपछि अस्पतालमा आकस्मिक भर्ना भएका संक्रमितहरूको अस्पतालले उपचार गरिरहेको भए पनि यसअघि होम तथा होटलमा रहेका संक्रमितहरूलाई भने आकस्मिक सेवा प्रदान नगरेको प्रवक्ता गौतमले बताएका छन्।
साथै, मन्त्रालयले ननकोभिड बिरामीहरूको पनि उचित व्यवस्थापन गरेर उपचार गर्न सबै अस्पतालहरूलाई अनुरोध गरेको छ।