चीनद्वारा कोभिड–१९ महामारीमा सघाउन आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची माग
Tuesday, September 15th, 2020, 5:32 pm
एजेन्सी, ३० भदौ । चीनले नेपाललाई कोभिड–१९ महामारीमा सहयोग गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची माग गरेको छ।
बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत एसियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईसँग मंगलबार भएको भेटवार्तामा नेपालको महामारीमा अझै सहयोग गर्ने चीनको प्रतिबद्धता आएको हो।
यसअघि चीनले नेपाल, पाकिस्तान, अफगानिस्तानसँगको भिडियो कन्फ्रेन्समा १० मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको थियो।
राजदूत निकट स्रोतका अनुसार महामारीले नेपालको अवस्थामा गम्भीर असर परिरहेका बेला चीनले ढाडस दिएको छ भने आवश्यक स्वास्थ्य सामग्रीको सूचि पनि माग गरेको हो।
नेपालमा महामारी फैलिएदेखि नै चीनले सहयोग गर्दै आएको छ भने नेपालले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेकोमा दुवै देशले आभार प्रकट गर्दै यसबीचमा आपसी सहयोगलाई अझै द्रूत बनाउने प्रतिबद्धता चीनले दोर्होयाएको छ।