आज बिहान मात्रै देशभर ५ जना कोरोना संक्रमितको मृत्यु
Monday, September 14th, 2020, 10:28 am
काठमाण्डौ, २९ भदौ । कोरोना संक्रमणबाट आज बिहान देशभर थप ५ जनाको मृत्यु भएको छ।
वीपी प्रतिष्ठान धरानमा दुईजना, चितवन मेडिकल कलेजमा एकजना, प्रादेशिक अस्पताल जनकपुरमा एकजना र बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको हो।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङको धनपालथान–६ का ४० वर्षीय पुरुष र विराटनगर–१२ का ७० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन्।
त्यस्तै प्रादेशिक अस्पताल जनकपुरमा महोत्तरी लोहारपट्टी नगरपालिका–३ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताएका छन्।
चितवन मेडिकल कलेजमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको उपचारका क्रममा आइतबार राति साढे ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिएका छन्।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिला रहेकी छन्। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।