पीसीआर परिक्षणको शुल्क अब २ हजार रुपैयाँ मात्रै
Sunday, September 13th, 2020, 5:23 pm
काठमाण्डौ, २८ भदौ । सरकारले कोरोना परीक्षणका लागि गरिने पीसीआर टेष्टको परिक्षण शुल्क घटाएको छ।
आजै (आइतबार) बाट लागू हुने गरी सरकारले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
शुरुमा ५ हजार ५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको सरकारले गत भदौ १४ गते ११ सय रुपैयाँ घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ लिएर पीसीआर गराउन पाईने निर्णय थियो।
पीसीआर परीक्षणमा शुल्क २४ सय रुपैयाँ घटेसँगै सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको हो।
सरकारले सरकारी अस्पतालको ल्याबमा पनि ५० प्रतिशत मूल्य तिरेर पीसीआर गर्न सकिने ब्यवस्था यसअघिको मूल्य समायोजनसँगै गरेको थियो।
त्यस्तै कोरोना संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ मा परेका व्यक्तिहरुको भने निशुल्क पीसीआर जाँच हुँदै आएको छ।