सोमबार मन्त्रीपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
Sunday, September 13th, 2020, 4:08 pm
काठमाण्डौ, २८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समीकरण परिवर्तन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीपरिषद् पुर्नगठन गर्ने तयारी गरेका छन् भने खाली रहेका मन्त्रालय तथा दुई वर्ष पुगेका केही मन्त्री एवं राज्यमन्त्री हटाएर त्यसको ठाउँमा नयाँ मन्त्री बनाउने योजना रहेको स्रोतले बताएको छ।
नेकपा अध्यक्षद्वयबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुर्नगठन गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको हो।
नेकपाभित्र देखिएको पछिल्लो विवादका कारण मन्त्रिपरिषद् हेरफेर रोकिएको थियो । विवाद समाधानका सन्दर्भमा महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको समस्या समाधान कार्यदलले पनि मन्त्रीपरिषद् पुर्नगठन गर्ने सुझाव दिएको थियो।
स्रोतका अनुसार मन्त्रीपरिषद् पुर्नगठन गर्नेक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, वनमन्त्री शक्ति बस्नेत हट्ने लिस्टमा रहेका छन्।
ती मन्त्रीहरुको ठाउँमा कसलाई ल्याउने भन्ने बिषयमा छलफल भइरहेको छ भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयको मन्त्रीमा समेत ट्रान्सफर गर्न सक्ने स्रोतले बताएको छ।