चितवनमा थप एक होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु
Sunday, September 13th, 2020, 11:53 am
चितवन, २८ भदौ । चितवनमा थप एक जना होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको घरमै आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो।
आइतबार मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरकी बिरामी हुन् भने उनको शरीरमा हेमोग्लोविनको मात्रा पनि कम रहेको बताइएको छ।
कोरोना संक्रमणका कारण अहिलेसम्म चितवनका १७ जनाको मृत्यु भएको छ।
चितवनमा कुल १ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा होम आइसोलेसनमा मात्रै २५० जना भन्दा बढी रहेका छन्।