नेपालगन्जको आयल निगम डिपोका दुई कर्मचारीमा कोरोना संक्रमण, कार्यालय ५ दिन बन्द
Saturday, September 12th, 2020, 2:44 pm
नेपालगन्ज, २७ भदौ । नेपालगञ्जस्थित नेपाल आयल निगम लिमिटेडको इन्धन डिपोमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार थालिएको निगमले जानकारी दिएको छ।
गत बुधबार गरिएको पिसिआर परीक्षणमा दुई कर्मचारीलाई कोराना देखिएको थियो भने त्यसपछि बिहीबारदेखी नेपालगञ्ज कार्यालय ५ दिनका लागि बन्द गरिएको छ र कार्यालय खुलेपछि पनि रिजर्भ राखिएका कर्मचारीबाट काम हुनेछन् तर पिसिआर परीक्षणमा सहभागी भएका कर्मचारीलाई काममा नलगाइने निगमले जनाएको छ।
नेपालगञ्ज कार्यालय पाँच दिनका लागि बन्द गर्नुपरेपछि पश्चिम क्षेत्रमा इन्धन आपूर्ती गर्न केही असहजता हुने छ । त्यसअवधिभर ५ नम्बर प्रादेशिक कार्यालय, भैरहवा र ७ नम्बर प्रादेशिक कार्यालय, धनगढीबाट इन्धन ओसार्ने व्यवस्था मिलाइएको छ । यसरी इन्धन ओसार्दा भैरहवा र धनगढीकै ट्यांकर प्रयोग गर्न निर्देशन दिइएको छ।
त्यस्तै दाङका लागि भैरहवा डिपोबाट र सुर्खेत कार्यालयका लागि धनगढीबाट इन्धन ओसार्ने व्यवस्था समेत मिलाईएको निगमले जनाएको छ।