कतारको दोहामा तालिवान र अफगानिस्तानबीच ऐतिहासिक शान्ति वार्ता सुरु
Saturday, September 12th, 2020, 1:59 pm
एजेन्सी, २७ भदौ । अफगानिस्तान सरकार र विद्रोही समूह तालिवानबीच ऐतिहासिक वार्ता कतारको दोहामा शनिबार विहान सुरु भएको छ । यो वार्ताले वर्षौ लामो द्वन्द्व अन्त्य गर्न सक्ने अनुमान गरिएको छ।
सन् २००१ मा अमेरिकी आक्रमणपछि तालिबानको सत्ता अफगानिस्तानबाट विस्थापित भएको थियो । त्यसपछि सशस्त्र द्वन्द्वमा उत्रिएको तालिबानी युद्धका कारण अफगानिस्तानमा हजारौँले ज्यान गुमाएका छन् भने लाखौँ घरवारविहिन भएका छन्। त्यसैले यो वार्ताले अफगानिस्तानमा नयाँ परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ।
दोहामा शनिबार विहान सुरु भएको यो वार्ताका लागि कडा सुरक्षाको व्यवस्था गरिएको छ।
न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार बारम्बारको प्रयासपछि अफगानीस्तान सरकार र तालीवान फेरि वार्तामा बस्न तयार भएका हन् । यसअघि तालिवानले अमेरिकी अधिकारीहरुसँग पनि वार्ता गरेको थियो भने यसअघि तालिवानले अफगानिस्तान सरकार अमेरिकी पपेट भएको भन्दै उनीहरुसँग वार्तामा बस्न अस्वीकार गर्दै आएको थियो।
फ्रेबुअरीमा अमेरिका र तालिबानसँग भएको ऐतिहासिक सम्झौता पछि मात्र अफगानिस्तान र तालिबानबीचको यो वार्ता सम्भव भएको हो । अमेरिकाले यो वार्तामा आफ्नो सैनिक फिर्ता लैजाने र अफगानिस्तान सरकारले ५ हजार तालिवानी लडाकुलाई जेलबाट छोड्ने सर्त पालना गरेपछि यो वार्ता सम्भव भएको हो।
अफगानिस्तान सरकारका वार्ता टोलीका संयोजक तथा त्यहाँको पुनर्उत्थान परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्लाहले यो वार्ताले आफूहरुलाई पूर्ण रुपमा परिवर्तन गर्नेमा आफू विश्वस्त भएको बताएका छन्।