प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बनेर पार्टीको नेतृत्व गर्ने र सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने : नेकपा बैठकको निर्णय
Friday, September 11th, 2020, 6:25 pm
काठमाण्डौ, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै शुक्रबार सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड पार्टीको कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्व गर्ने निर्णय भएको छ।
बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्षको कार्यविभाजन टुंगो लागेको र प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रीत रहने निर्णय भएको हो।
यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गरी पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ भने सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप नगर्ने तर महत्त्वपूर्ण सवालमा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने उनले बताएका छन्।
आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका मात्रिका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले धारणा राखेका थिए।
ती सदस्यले धारणा राखेपछि प्रचण्डले प्राप्त सुझावका सन्दर्भमा आफ्नो धारणा राखेका थिए भने त्यसपछि विभिन्न निर्णय गर्दै बैठक सकिएको थियो । छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको श्रेष्ठले बताएका छन्।
त्यस्तै पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेका छन्।