काठमाण्डौ महानगरीय अपराध महाशाखाका ७ जना प्रहरीमा कोरोना संक्रमण
Friday, September 11th, 2020, 12:43 pm
काठमाण्डौ, २६ भदौ । काठमाण्डौको महानगरीय अपराध महाशाखाका सात जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
एक असई, एक हवल्दार र पाँच सिपाहीमा कोरोना संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ।
संक्रमितहरुलाई अहिले नेपाल प्रहरी अस्पताल, दुई नम्बर गणको आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ भने संक्रमितहरूमध्ये चार जना महाशाखाकै कार्यालयमै कार्यरत प्रहरी हुन् भने अरू महाशाखा अन्तर्गतका युनिटका हुन्।
महाशाखाका २२ जनाको स्वाब परीक्षण गराउँदा ७ जनामा संक्रमण देखिएको हो। उनीहरूमा विभिन्न मितिमा संक्रमण देखिएको थियो।
त्यस्तै थप १९ जना प्रहरीको स्वाब संकलन गरी कोरोना परीक्षणको लागि स्वाब पठाएको छ भने उनीहरुको रिपोर्ट आउन बाँकी नै रहेको छ।
महाशाखाले गत सोमबार बागबजारबाट चार जनालाई नक्कली प्रेसकार्ड बनाएको आरोपमा पक्राउ गरेको थियो। त्यसमध्ये एक जनामा कोरोना संक्रमण देखिएको थियो। उनीबाट नै महाशाखामा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।