आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित, सरकारको प्रवक्ता र कुलमानबारे भोलि निर्णय हुने
Thursday, September 10th, 2020, 1:10 pm
काठमाण्डौ, २५ भदौ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित भएको छ। सत्तारुढ दल नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्रीहरूलाई बिहीबार साँझ मन्त्रीपरिषदको बैठकमा आउन भनिएको भएतापनि आज बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी गराइएको थियो।
मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए।
मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निरन्तरता दिइने भनिसकेका छन् तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन।
यसैगरी प्राधिकरणको प्रमुखमा कुलमानलाई चार वर्षका लागि फेरि नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइ नसकेको र उनलाई फेरि जिम्मेवारी दिने भन्नेतर्फ नै छलफल भइरहेको मन्त्री निकट स्रोतले बताएको छ।
त्यस्तै, भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ता नियुक्त गर्नुका साथै केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ।