नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध लेख्न नपाउने
Thursday, September 10th, 2020, 12:37 pm
काठमाण्डौ, २५ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता र कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आफ्नो पार्टीका नेताविरुद्ध आलोचना गर्न नपाइने व्यवस्था गर्न लागिएको छ। अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेका भएतापनि अब त्यस्तो आलोचना गर्न नपाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ।
बिहीबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ।
स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ।’
‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ’ भनी अध्यक्षद्वयको प्रस्तावमा उल्लेख गरिएको छ।