नेपाली किशोरीलाई भारत लैजाँदै गर्दा ६ जना युवक पक्राउ
Thursday, September 10th, 2020, 12:25 pm
रौतहट, २५ भदौ । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेललाई पक्राउ गरेको छ।
पक्राउ परेका ती सातै जनालाई जिल्ला प्रहरीको नियन्त्रणमा राखेर घटनाबारेमा छानबिन भइरहेको बताइएको छ।