रौतहटको इलाका प्रहरी कार्यालयका डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण
Wednesday, September 9th, 2020, 3:38 pm
रौटहट, २४ भदौ । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी)सहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहका अनुसार बुधवार बिहान आएको कोरोना परीक्षण रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक, दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारी संक्रमित भएपछि उक्त इलाका प्रहरी कार्यालयलाई सेनेटाइज गर्नुका साथै भौतिक दुरीसहित केही कामकाजलाई मात्रै निरन्तरता दिएको एसपी शाहले बताएका छन्।
गत शुक्रवार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २० प्रहरी र ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो।
एसपी शाहका अनुसार संक्रमित प्रहरीलाई चन्द्रपुर २ मा रहेको आइसोलेसनमा पठाइएको र इलाका प्रहरी कार्यालयमा जिल्लाबाट थप टोली पठाइएको छ।